मङ्गलबार, जुलाई १५
गोठालोले झैँ मेरा साना भेडाहरूको हेरचाह गर।—युह. २१:१६.
प्रेषित पत्रुसले सङ्गी एल्डरहरूलाई ‘परमेश्वरको बगालको हेरचाह गर’ भन्ने सल्लाह दिए। (१ पत्रु. ५:१-४) तपाईँ एल्डरहरू भाइबहिनीलाई प्रेम गर्नुहुन्छ र तिनीहरूको हेरचाह गर्न चाहनुहुन्छ भनेर हामीले बुझेका छौँ। तर असाध्यै व्यस्त वा थकित भएकोले कहिलेकाहीँ यो जिम्मेवारी पूरा गर्न सक्दिनँ जस्तो तपाईँहरूलाई लाग्ला। त्यसो हो भने तपाईँ के गर्न सक्नुहुन्छ? आफ्नो भावना यहोवालाई पोख्नुहोस्। पत्रुसले यस्तो लेखे: “यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्।” (१ पत्रु. ४:११) तपाईँको मण्डलीका भाइबहिनीले यस युगमा समाधान हुन नसक्ने समस्याहरू भोगिरहेका छन् होला। तर यो कुरा कहिल्यै नबिर्सनुहोस्: तपाईँले दिने मदतभन्दा “मुख्य गोठालो” येसुले दिनुहुने मदत कता हो कता धेरै छ! अनि उहाँ अहिले र नयाँ संसारमा पनि त्यसो गर्न सक्नुहुन्छ। तर यहोवा एल्डरहरूले आफ्ना भाइबहिनीलाई प्रेम गरेको, तिनीहरूको हेरचाह गरेको र “बगालको निम्ति उदाहरण” भएको मात्र चाहनुहुन्छ। w२३.०९ पृ. २९-३० अनु. १३-१४
बुधबार, जुलाई १६
बुद्धिमान् मानिसहरूको तर्क व्यर्थ छ भनेर यहोवा परमेश्वरलाई थाह छ।—१ कोरि. ३:२०.
हामीले मानिसको सोचाइ राख्नु हुँदैन। यदि हामीले कुनै मामिलामा मानिसको जस्तै सोचाइ राख्यौँ भने यहोवा र उहाँका स्तरहरूलाई बेवास्ता गर्ने हदसम्म पुग्न सक्छौँ। (१ कोरि. ३:१९) “संसारको बुद्धि”-ले हामीलाई अक्सर यहोवाको नियम उल्लङ्घन गर्न उक्साउँछ। पर्गामम र थिआटिरा मण्डलीका केही ख्रिष्टियनले मूर्तिपूजा र अवैध यौनसम्बन्धप्रति त्यस सहरका मानिसहरूको जस्तै सोचाइ राखेका थिए। अवैध यौनसम्बन्ध राख्नुलाई हल्कासित लिएकोले येसुले दुइटै मण्डलीलाई कडा सल्लाह दिनुभयो। (प्रका. २:१४, २०) आज पनि मानिसहरूले हामीलाई गलत धारणा राख्न दबाब दिन सक्छन्। परिवारका सदस्यहरू र साथीभाइले यहोवाका नीतिनियमहरू एकदमै कडा छन् र ती पालन गर्नुपर्दैन भनेर विश्वास दिलाउन खोज्छन। तिनीहरूले बाइबलका नैतिक स्तरहरू पुरानो भइसके र नैतिक तवरमा स्वच्छ रहनुपर्दैन भनेर बताउन सक्छन्। कहिलेकाहीँ हामीलाई यहोवाले दिनुभएको निर्देशन स्पष्ट छैन जस्तो लाग्न सक्छ। हामी “लेखिएका कुराहरूभन्दा बढ्ता गर्ने” पासोमा पर्न सक्छौँ।—१ कोरि. ४:६. w२३.०७ पृ. १६ अनु. १०-११
बिहीबार, जुलाई १७
साँचो मित्रले सधैँ माया गर्छ अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।—हितो. १७:१७.
येसुकी आमा मरियमलाई यहोवाको इच्छा पूरा गर्न बल चाहिएको थियो। तिनको विवाह भएको थिएन तर तिनी गर्भवती हुने थिइन्। तिनीसित बच्चा हुर्काउने अनुभव थिएन। तर तिनले सानो बालकको लालनपालन गर्नुपर्ने थियो, जो पछि मसीह हुने थिए। साथै तिनले कहिल्यै कसैसित शारीरिक सम्बन्ध राखेकी थिइनन्। तर तिनले आफ्नो मङ्गेतर युसुफलाई आफू गर्भवती भएको कुरा बताउनुपऱ्यो। तिनलाई कत्ति गाह्रो भयो होला! (लुका १:२६-३३) मरियमले यो जिम्मेवारी पूरा गर्न कसरी बल पाइन्? तिनले अरूको मदत खोजिन्। जस्तै: तिनले गब्रिएल स्वर्गदूतलाई यस जिम्मेवारीबारे थप कुरा सोधिन्। (लुका १:३४) अनि त्यसको केही समयपछि तिनी “पहाडी भूभागमा पर्ने” यहुदाको एउटा सहरमा बस्ने आफन्त इलिसिबालाई भेट्न गइन्। इलिसिबाले तिनको प्रशंसा गरिन् र यहोवाबाट प्रेरणा पाएर मरियमको गर्भमा रहेको बच्चाबारे एउटा प्रोत्साहनदायी भविष्यवाणी गरिन्। (लुका १:३९-४५) यहोवाले “आफ्नो बाहुलीले पराक्रमी कामहरू गर्नुभएको छ” भनेर मरियमले बताइन्। (लुका १:४६-५१) उहाँले गब्रिएल र इलिसिबामार्फत मरियमलाई बलियो पार्नुभयो। w२३.१० पृ. १४-१५ अनु. १०-१२